
धादिङको धुनिवेशी नगरपालिका–६, चालिसे क्षेत्रमा आज दिउँसो करिब ४ बजेको समयमा भीषण सवारी दुर्घटना भएको छ
इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, दुर्घटनामा स्कुल बस, तीनवटा यात्रुवाहक बस, एक डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन आपसमा ठोक्किएका छन्।
प्रारम्भिक बुझाइअनुसार डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना हुनसकेको आशंका गरिएको छ। घटनास्थलमा अहिले उद्धार कार्य तीव्र रूपमा जारी छ। घाइतेमध्ये केहीलाई अस्पताल पुर्याइएको छ भने अन्यलाई ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबाट मानवीय क्षति हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
नीलकण्ठ नगरपालिका–८ सहाह देउरालीस्थित शिव मन्दिरमा आज विशेष जात्रा लाग्ने भएको छ ।
हिन्दु धर्मावलम्बीबीच गहिरो आस्था राखी मनाइने धार्मिक परम्पराको जगेर्नाका लागि यस वर्षदेखि मंसिर कृष्ण त्रयोदशीका दिन विशेष रूपमा साँझ पूजा–आजाको परम्परा सुरु गरिएको हो ।
सामान्य विधिबाट पूजा हुँदै आएको यस शिव मन्दिरमा यस वर्षदेखि व्यवस्थित र विशेष पूजा विधि थालिएको शिवालय धार्मिक विकास संस्थाका अध्यक्ष केशव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज मंसिर २ गते साँझ सामूहिक रुपमा फूलको डोली भित्र्याइने, रातभर पूजा–पाठ गरिने तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।
स्थानीय बासिन्दाले हरेक वर्ष जात्रालाई अझ व्यवस्थित र आकर्षक बनाउन निरन्तर पहल गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले यस पहलले नेपालभर प्रचलित धार्मिक विश्वास, परम्परा र सामुदायिक संस्कृति जगेर्नामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नेकपा एमाले धादिङले जिल्लाका सबै १३ वटै पालिकामा बृहत र्याली सहित कोण सभा सम्पन्न गरेको छ। जेन्जी आन्दोलनपछि उत्पन्न अराजकता, लोकतन्त्रको रक्षा र संसद पुनर्स्थापनाको माग गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।
धादिङ एमाले अध्यक्ष भूमि त्रिपाठीले जेन्जी आन्दोलनपछि देशमा हिंसा र अराजकता फैलिएको आरोप लगाउँदै राजनीतिक स्थायित्व र सुशासनका लागि एमालेले नेतृत्व गर्ने बताए।राजनीतिक स्थायित्व र सुशासनको सन्देश दिन र संसद्को पुनस्र्थापनाको दबाबका लागि जिल्लाभर कोणसभा गरिएको हो । उज्यालोको विकल्प अँध्यारो हुन सक्दैन । नेकपा एमाले समाज रूपान्तरणको उज्यालो घाम हो।’ उनले भने– ‘देशलाई खरानी बनाउनेहरूले जिन्जी आन्दोलन कब्जा गरे । त्यसपछि हत्या हिंसा आतंक फैलियो । प्रहरीका हतियार बर्दी खोसिए, कैदीबन्दीलाई बाहिर निकालियो । समाजमा डर हिंसा अराजकता फैलाइयो। हामी लोकतन्त्र र संविधानको पक्षमा छौँ। लोकतन्त्रमा यो छुट छैन। देश बचाउन एमालेले नेतृत्व गर्छ तपाईं साथ दिनुहोस् ।
नीलकण्ठ नगर कमिटीले ससाहदेखि मोटरसाइकल र्याली धादिङबेसी बजार परिक्रमा गरी एमाले चोकमा कोणसभा गरेको छ । धुनिबेसी नगर कमिटीले खानीखोला बजार परिक्रमा गरी कोण सभा गरेको हो । थाक्रे गाउँपालिका कमिटीले महादेवबेसीमा र्याली सहित कोण सभा, गल्छी गाउँपालिका कमिटीले गल्छीमा कार्यकर्ता भेला, गजुरी गाउँपालिका कमिटीले ¥याली सहित कोणसभा, बेनीघाट रोराङ गाउँपालिका कमिटीले मलेखुदेखि मौवा खोलासम्म मोटरसाइकल र्याली गरी कोण सभा गरेको छ ।
कार्यक्रमअन्तर्गत नीलकण्ठ, धुनिबेसी, थाक्रे, गल्छी, गजुरी, बेनीघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, गङ्गाजमुना, खनियाबास र रुवीभ्याली गाउँपालिकामा ¥याली र कोणसभा आयोजना गरिएको थिए।
नेकपा एमाले धादिङले भोलि (कात्तिक २५ गते) जिल्लाभर बृहत् जनप्रदर्शन आयोजना गर्ने भएको छ। जिल्लाका १३ वटै पालिकामा छुट्टाछुट्टै प्रदर्शन र कार्यक्रम सञ्चालन गरिने एमाले धादिङले जनाएको छ।
जेन–जी आन्दोलनपछि देशभर फैलिएको अराजकता र विध्वंसका घटनाविरुद्ध खबरदारी गर्न तथा अपराधीहरूलाई दण्डित गर्न माग गर्दै प्रदर्शन गर्न लागिएको धादिङ एमालेका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनुभयो।
संविधानको रक्षा, लोकतन्त्रको जगेर्ना र संसद पुनःस्थापनाका लागि दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमलाई सफल बनाउन नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सक्रिय सहभागिताको आह्वान गरिएको एमाले धादिङकी सचिव राधिका सापकोटाले बताउनुभयो।
धादिङको गल्छी गाउँपालिका–४ मास्टारस्थित पृथ्वी लोकमार्गमा आइतबार साँझ बोलेरोको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।
आइतबार साँझ करिब ६ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोले स्थानीय ७० वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइए पनि चिकित्सकले साँझ ६:४८ बजे मृत घोषित गरेका हुन्।
दुर्घटनापछि बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा असोज २४ गते हुने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। अतिथी निमन्त्रणा सहित सहभागीहरुलाई फोन सम्पर्क भईरहेको कार्यक्रम संयोजक बद्री खतिवडाले जानकारी दिनुभयो ।

जिल्लाको १३ वटै पालिकाबाट माध्यमिक विद्यालय पढ्ने विद्यार्थीहरुको सहभागिता रहने समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । युवा पुस्ताको चाहना ः असल नेतृत्व र इमान्दार राजनिति शिर्षकमा वक्तृत्वकला प्रतियोगिताका हुने भएको संस्थाका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि धादिङका १३ स्थानीय तहबाट ३२ जना विद्यार्थी छनोट भएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार तृतिय पुरस्कार २० हजार, चौँथो पुरस्कार १० हजार र पाँचौ पुरस्कार ५ हजार रहेको छ ।
असोज २४ गते धादिङबेसी स्थित सिटी हलमा बिहान १० बजेदेखि कार्यक्रम सुरु हुने अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता सुदिप भुषण अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा गल्छी गाउँपालिकाबाट सूचना अधिकारी, संगीता श्रेष्ठ र सक्षम नेपाल, त्रिपुरासुन्दरी गाउँपालिकाबाट विवेक बन्जरा र सन्ध्या बिक, थाँक्रे गाउँपालिकाबाट सम्बृदी रुपाखेती, सम्भव रुपाखेती र श्रीकृष्ण सुवेदी, धुनेबेशी नगरपालिकबाट काजल बास्कोटा, रन्जिता तामाङ र श्रीब्मा खकुरेल, नीलकण्ठ नगरपालिकाबाट इशा थापा, सञ्जिवनी पोख्रेल, मनिषा शाक्य र अविज्ञ कार्की, रुबीभ्याली गाउँपालिकाबाट मेनुका तामाङ छनोट भएका छन् ।
त्यसैगरी खनियाबास गाउँपालिकाबाट आशिक तामाङ र फ्लोरिना गुरुङ, ज्वालामुखी गाउँपालिकाबाट सन्देश भट्ट र बबिता गुरुङ, गंगाजमुना गाउँपालिकाबाट टीका नेपाली र श्रेया तामाङ, सिद्धलेक गाउँपालिकाबाट समिर गिरी र रनिशा सुनार, नेत्रावती डबजोङ गाउँपालिकाबाट युनिका श्रेष्ठ र अनुष्का कमर, रोशनी तामाङ,बेनीघाट रोराङ गाउँपालिकाबाटः उमिद थपलिया, राजिव भट्ट र विजय पाण्डे र गजुरी गाउँपालिकाबाट अनिरुद्रसिं बस्नेत र इसा भण्डारी छनोट भएका छन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा संविधान सभा सदस्यहरु, पुर्व मन्त्री, पुर्व सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख नगरपालिका तथा गाउँपालिका मेयर तथा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहने संस्थामा सचिव राजेन्द्र थपलियाले जानकारी दिनुभयो ।
धादिङ – नेत्रावती डबजोङ गाउँपालिका–१ का वडा अध्यक्ष ठाकुर गुरुङको पहलमा मृगौला पीडित २५ वर्षीया मिना थापा मगरलाई २५ लाख ५२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
नेत्रावती डबजोङ १ निमार्चोककी मिना करिब तीन वर्षदेखि दुबै मृगौला नचल्दा नियमित डायलाइसिसमा निर्भर छिन्। चिकित्सकले तत्काल प्रत्यारोपण आवश्यक भने पनि आर्थिक अभावका कारण उपचार रोकिएको थियो।
सहयोग अभियानमा नमुना गुरुङ गाउँ होमस्टे गंगाजमुना-३ , टोल सुधार समिति, स्थानीयवासी र विभिन्न संघसंस्था सक्रिय थिए। संकलित रकम औपचारिक रूपमा नेपाली कांग्रेस महासमिति सदस्य दिनेशबहादुर गुरुङ, वडा अध्यक्ष ठाकुर गुरुङलगायतको उपस्थितिमा मिनाको परिवारलाई हस्तान्तरण गरिएको हो।
सहयोग उपलब्ध भएपछि अब मिनाको मृगौला प्रत्यारोपण गर्ने बाटो खुलेको र अबको केही दिनमै आफ्नै आमाको मृगौला प्रत्यारोपण गर्ने प्रकिया अगाडि बढिसकेको परिवारले जनाएको छ ।
धादिङ, असोज १
नीलकण्ठ नगरपालिका–१० मा मानसिक अपाङ्गता भएकी २९ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भाद्र २५ गते बलात्कारमा परेकी उनले भोलिपल्ट जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गरेकी थिइन्।
उजुरी दर्ता गरी घर फर्किएपछि स्वास्थ्य समस्या देखिएपछि उनी पुनः जिल्ला अस्पताल धादिङमा फालोअपका लागि आएकी थिइन्। अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा हेमोग्लोबिनको कमी देखिएपछि रगत चढाउने क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा संलग्न स्थानीय ३१ वर्षीय पुरुष हाल फरार रहेका छन् र उनलाई खोजी कार्य तिव्र पारिएको छ। यसैबीच, पीडित पक्षले गाउँमै मिलाउन दबाब दिने केही व्यक्तिहरूप्रति गुनासो गरेका छन्।
जबरजस्ती करणीको शिकार भएकी ती किशोरी विगत ३ वर्षदेखि नीलकण्ठ–११ लामस्थानस्थित आफ्नै दिदीको घरमा बस्दै आएकी थिइन्।
धादिङ — धादिङको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा आइतबार बिहान स्कारपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक निलकण्ठ–९ निगालपानीका ३९ वर्षीय राकेश खाती र पछाडि सवार ३५ वर्षीय कुमार बराइली घाइते भएका छन्। घाइते खातीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ। उनको छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ। अर्का घाइते बराइलीको भने धादिङ अस्पतालमै उपचार भइरहेको छ।
यस घटनामा संलग्न स्कारपियो चालक काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
नख्खु कारागारबाट फरार भएका तीनजना कैदी धादिङको गल्छी–बैरेनी क्षेत्रबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राई रहेका छन्। उनीहरू सबै जवरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए। मंगलबार कारागारबाट फरार भएका उनिहरु लुक्दैछिप्दै हिँडिरहेका अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएको भैरबनाथ गण,गजुरीका कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो ।
नियन्त्रणमा रहेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइएको छ।





