२०८२ आश्विन २३ बिहीबार
२०८२ आश्विन २३ बिहीबार

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा असोज २४ गते हुने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। अतिथी निमन्त्रणा सहित सहभागीहरुलाई फोन सम्पर्क भईरहेको कार्यक्रम संयोजक बद्री खतिवडाले जानकारी दिनुभयो ।

जिल्लाको १३ वटै पालिकाबाट माध्यमिक विद्यालय पढ्ने विद्यार्थीहरुको सहभागिता रहने समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । युवा पुस्ताको चाहना ः असल नेतृत्व र इमान्दार राजनिति शिर्षकमा वक्तृत्वकला प्रतियोगिताका हुने भएको संस्थाका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि धादिङका १३ स्थानीय तहबाट ३२ जना विद्यार्थी छनोट भएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार तृतिय पुरस्कार २० हजार, चौँथो पुरस्कार १० हजार र पाँचौ पुरस्कार ५ हजार रहेको छ । 

असोज २४ गते धादिङबेसी स्थित सिटी हलमा बिहान १० बजेदेखि कार्यक्रम सुरु हुने अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता सुदिप भुषण अर्यालले जानकारी दिनुभयो । 

प्रतियोगितामा गल्छी गाउँपालिकाबाट सूचना अधिकारी, संगीता श्रेष्ठ र सक्षम नेपाल, त्रिपुरासुन्दरी गाउँपालिकाबाट विवेक बन्जरा र सन्ध्या बिक,  थाँक्रे गाउँपालिकाबाट सम्बृदी रुपाखेती, सम्भव रुपाखेती र श्रीकृष्ण सुवेदी, धुनेबेशी नगरपालिकबाट काजल बास्कोटा, रन्जिता तामाङ र श्रीब्मा खकुरेल, नीलकण्ठ नगरपालिकाबाट इशा थापा, सञ्जिवनी पोख्रेल, मनिषा शाक्य र अविज्ञ कार्की, रुबीभ्याली गाउँपालिकाबाट मेनुका तामाङ छनोट भएका छन् । 

त्यसैगरी खनियाबास गाउँपालिकाबाट आशिक तामाङ र फ्लोरिना गुरुङ, ज्वालामुखी गाउँपालिकाबाट सन्देश भट्ट र बबिता गुरुङ, गंगाजमुना गाउँपालिकाबाट टीका नेपाली र श्रेया तामाङ, सिद्धलेक गाउँपालिकाबाट समिर गिरी र रनिशा सुनार, नेत्रावती डबजोङ गाउँपालिकाबाट युनिका श्रेष्ठ र अनुष्का कमर, रोशनी तामाङ,बेनीघाट रोराङ गाउँपालिकाबाटः उमिद थपलिया, राजिव भट्ट र विजय पाण्डे र गजुरी गाउँपालिकाबाट अनिरुद्रसिं बस्नेत र इसा भण्डारी छनोट भएका छन् । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा संविधान सभा सदस्यहरु, पुर्व मन्त्री, पुर्व सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख नगरपालिका तथा गाउँपालिका मेयर तथा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहने संस्थामा सचिव राजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

धादिङ – नेत्रावती डबजोङ गाउँपालिका–१ का वडा अध्यक्ष ठाकुर गुरुङको पहलमा मृगौला पीडित २५ वर्षीया मिना थापा मगरलाई २५ लाख ५२ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

नेत्रावती डबजोङ १ निमार्चोककी मिना करिब तीन वर्षदेखि दुबै मृगौला नचल्दा नियमित डायलाइसिसमा निर्भर छिन्। चिकित्सकले तत्काल प्रत्यारोपण आवश्यक भने पनि आर्थिक अभावका कारण उपचार रोकिएको थियो।

सहयोग अभियानमा नमुना गुरुङ गाउँ होमस्टे गंगाजमुना-३ , टोल सुधार समिति, स्थानीयवासी र विभिन्न संघसंस्था सक्रिय थिए। संकलित रकम औपचारिक रूपमा नेपाली कांग्रेस महासमिति सदस्य दिनेशबहादुर गुरुङ, वडा अध्यक्ष ठाकुर गुरुङलगायतको उपस्थितिमा मिनाको परिवारलाई हस्तान्तरण गरिएको हो।

सहयोग उपलब्ध भएपछि अब मिनाको मृगौला प्रत्यारोपण गर्ने बाटो खुलेको र अबको केही दिनमै आफ्नै आमाको मृगौला प्रत्यारोपण गर्ने प्रकिया अगाडि बढिसकेको परिवारले जनाएको छ ।

धादिङ, असोज १

नीलकण्ठ नगरपालिका–१० मा मानसिक अपाङ्गता भएकी २९ वर्षीया एक किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भाद्र २५ गते बलात्कारमा परेकी उनले भोलिपल्ट जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गरेकी थिइन्।

उजुरी दर्ता गरी घर फर्किएपछि स्वास्थ्य समस्या देखिएपछि उनी पुनः जिल्ला अस्पताल धादिङमा फालोअपका लागि आएकी थिइन्। अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा हेमोग्लोबिनको कमी देखिएपछि रगत चढाउने क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा संलग्न स्थानीय ३१ वर्षीय पुरुष हाल फरार रहेका छन् र उनलाई खोजी कार्य तिव्र पारिएको छ। यसैबीच, पीडित पक्षले गाउँमै मिलाउन दबाब दिने केही व्यक्तिहरूप्रति गुनासो गरेका छन्।

जबरजस्ती करणीको शिकार भएकी ती किशोरी विगत ३ वर्षदेखि नीलकण्ठ–११ लामस्थानस्थित आफ्नै दिदीको घरमा बस्दै आएकी थिइन्।

धादिङ — धादिङको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा आइतबार बिहान स्कारपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक निलकण्ठ–९ निगालपानीका ३९ वर्षीय राकेश खाती र पछाडि सवार ३५ वर्षीय कुमार बराइली घाइते भएका छन्। घाइते खातीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ। उनको छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ। अर्का घाइते बराइलीको भने धादिङ अस्पतालमै उपचार भइरहेको छ।

यस घटनामा संलग्न स्कारपियो चालक काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

नख्खु कारागारबाट फरार भएका तीनजना कैदी धादिङको गल्छी–बैरेनी क्षेत्रबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राई रहेका छन्। उनीहरू सबै जवरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए। मंगलबार कारागारबाट फरार भएका उनिहरु लुक्दैछिप्दै हिँडिरहेका अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएको भैरबनाथ गण,गजुरीका कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो ।

नियन्त्रणमा रहेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइएको छ।

धादिङ कारागारमा सुरक्षा बलको गोली प्रहारबाट दुई कैदीबन्दीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ढुंगामुढा गर्दै कैदीबन्दीले गेट फोडेर बाहिर निस्कने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

गोलि लागेर मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–४ का ६१ वर्षिय जीत बहादुर घले र नवलपरासीका सुनवल–१२ का ३६ वर्षिय इन्द्र बहादुर डाला रहेको धादिङ अस्पतालका विक्रम वि.कले जानकारी दिनुभयो ।

घटनामा अन्य ७ जना घाईते भएका छन् ।

घाईते मध्ये धुनिबेसी–७ का ८५ वर्षीय डम्बरबहादुर दाहाल र गजुरी–६ का ६७ वर्षीय कृष्णबहादुर मोक्तान, त्रिपुरासुन्दरी–१ का ४२ वर्षीय कपिल परियार, गजुरी–८ का ४६ वर्षीय देवराज अधिकारी, गंगाजमुना–२ का ४२ वर्षीय मेमबहादुर तामाङ, नीलकण्ठ–७ का ४१ वर्षीय रामशरण परियार र नेत्रावती डबजोङ–५ का ३४ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।

घाईते सबैलाई धादिङ अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागि काठमाडौँ रेफर गरिएको अस्पतालकी सूचना अधिकारी डा.अस्मिता कटुवाल क्षेत्रीले जानकारी दिनुभयो ।

कैदीबन्दीले नख्खु कारागारबाट पूर्व गृहमन्त्री रवि लामिछानेसहित अन्य कैदी रिहा भएको प्रसंगलाई अघि सार्दै आफूहरुलाई समेत रिहा गर्न माग गरेका थिए । माग पुरा नभएपछि आक्रोशित कैदीबन्दीले कारागारभित्रै आगो लगाएर तोडफोड समेत गरेका छन् ।

नीलकण्ठ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । अहिले पनि कारागार वरिपरि कडा निगरानी बढाइएको छ।

हाल धादिङ कारागारमा २३४ जना कैदीबन्दी रहेका छन्, जसमा ९ जना महिला छन्।

जेन–जीको समर्थनमा आज मंगलबार धादिङबेसीमा प्रदर्शनको तयारी भएको छ ।

काठमाडौंमा सोमबार भएको जेन–जी आन्दोलनका क्रममा सरकारले अन्धाधुन्ध गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको र ४ सय भन्दा बढि घाइते भएपछि यसको विरोधस्वरूप धादिङका नागरिकहरुले जेन–जीको समर्थन तथा सरकार विरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

भ्रष्टाचार, ‘बेबी नेपो’ र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेन–जी आन्दोलनलाई समर्थन र सरकारविरुद्ध बिहान १० बजे सदरमुकाम धादिङबेशीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिने जनाईएको छ । प्रदशनमा सहभागी हुन आह्वान गरेका छन् ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङमा सञ्चालित होटलहरुमा अनुगमन गरिएको छ ।

जिल्ला अनुगमन समिति धादिङले सोमबार धुनिबेशी नगरपालिकामा सञ्चालित होटल, कोल्ड स्टोर्सहरूमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला अनुगमन समितिका संयोजक मोहन प्रसाद न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार धुनिबेशी नगरपालिकामा सञ्चालित १५ वटा होटल, एक मासु पसल र एक मिठाई पसलमा अनुगमन गर्दा धुनिबेशी नगरपालिका-८ खानिखोलाको डिजि कोल्ड स्टोरलाई २५ हजार, हाईवे स्टाफ होटललाई २५ हजार र धुनिबेशी नगरपालिका-६ मा रहेको सुर्य मिठाई पसललाई १० हजार जरिवाना गरिएको छ ।

कारबाहीमा परेका होटल तथा मिठाइ पसलले सरसफाइमा ध्यान नदिएको, निरन्तर सचेत गराउँदा पनि सुधार नगरेको र अखाद्य बस्तु बिक्रि गरेको पाइएकोले जरिवाना तिराइएको उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख चुडामणी पुरीले जानकारी दिनुभयो ।अनुगमनका क्रममा बिभिन्न होटलहरुबाट ५ हजार भन्दा बढि मुल्यको म्याद सकिएको खाद्यान्न सामाग्रिहरु समेत बरामद गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा ग‌एको अनुगमन टोलीमा उद्योग तथा वाणिज्य कार्यालय, पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, आन्तरिक राजश्व कार्यालय गल्छी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरु सहभागी थिए।

धादिङबेसी — नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा धादिङबेसीस्थित क्याम्पस चोकमा पूर्णकदको शालिक अनावरण गरिएको छ ।

विपी स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधान मन्त्री पूर्ण बहादुर खड्काले शालिक अनावरण गर्नुभयो ।

शालिक अनावरणपछि सम्बोधन गर्दै उपसभापति खड्काले लोकतन्त्रका प्रणेता विपी कोइरालाले देखाएको बाटो समातेरै देशको आर्थिक उन्नति र सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो । उहाँले विगतका कमजोरी सुधार्दै नयाँ संकल्पसहित विकासतर्फ अघि बढ्न सबै दल र नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कांग्रेसका नेताहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी र सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बादरेमोडमा ट्याङकर र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

शनिबार बिहान वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको पेट्रोल बोकेको ना.४ ख.३१३३ नम्बरको ट्याङकर र ताल्ती हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख.२८९४ नम्बरको यात्रुवाहक बस ठोक्किएको हो ।

दुर्घटनामा परेर बसमा सवार धादिङको बेनिघाट रोराङ–२ निवासी २० वर्षीया सरीता चेपाङ, ४५ वर्षीय हरीबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ, १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नविन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फूलमाया चेपाङ, ४९ वर्षीय विष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया,१० वर्षीय अजय चेपाङ र ३६ वर्षीया सगिता चेपाङ घाइते भएका छन् । घाइतेहरूलाई मलेखुस्थित मलेखु राजमार्ग अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बस चालक मकवानपुरको कैलाश-२ बस्ने बर्ष ३१को जिवन राना र ट्याङकर चालक धादिङको थाक्रे-५ बस्ने बर्ष ३५ को बुद्ध थोकर लाई नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।