नेपाल पूर्व प्रहरी संगठन धादिङका २२ जनाले नौमती बाजा बजाउने आधारभूत तालिम लिएका छन् ।

संगठनमा आवद्ध ८ जना महिला र १४ जना पुरुष गरी २२ जनाले बाजा बजाउने १ महिने आधारभूत तालिम लिएका हुन् । गत पुस १८ गते देखि माघ १८ गते ३० दिनसम्म तालिम लिई प्रशिक्षित भएको नेपाल पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडीले जानकारी दिनुभयो ।
बुधबार तालिम समापन समारोह आयोजना गर्दै संगठनले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । प्रशिक्षितहरुलाई नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले प्रहरी संगठनले माग गरेपछि नीलकण्ठ नगरपालिकाले १ लाख ३२ हजार रुपैयाँ बराबरको पञ्चेबाजा सहयोग गरिएको बताउनुभयो । पछिल्लो समय बाजा बजाउने पेसा विस्थापित हुँदै गएको अवस्थामा बाजाको संरक्षण गर्न, पूर्वप्रहरीको जीवनस्तरसँगै आर्थिक स्तर उकास्न मद्दत् पुग्ने उहाँले बताउनुभयो । अहिले परम्परागत लोकबाजा बजाउने क्रम घट्दै गएको भन्दै यसको संरक्षण गर्नुपर्ने आवश्यकता रहेकाले बाजा बजाउने पेशामा आवद्धहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
बाजा बजाउने टोलीलाई एकनासको पहिरनका लागि पोशाक पनि आवश्यक रहेकाले संगठनलाई नगरपालिकाले तत्काल प्रदान गर्ने उहाँको भनाई थियो । नगरपालिकाले दिएको बाजाको सहि सदुपयोग भए अरु पनि थपिदिने बताउनुभयो । पूर्व प्रहरीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नगरपालिकाले सदुपयोग गर्ने भन्दै ढुंगानाले संगठनमा आवद्धको नाम लिस्ट दिन आग्रह गर्नुभएको छ ।
उहाँले सीप अनुसारको काम नभएकोले आफ्नो सीप लाई सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।पूर्व प्रहरी संगठन धादिङले आन्तरिक श्रोतबाट निलकण्ठ–९ का जुठे परियार र भोटे दमाईलाई प्रशिक्षकका रुपमा लिई अहिले संगठनका २२ जनालाई तालिम प्रदान गरिएको र अब यस्लाई निरन्तरता दिईने संगठनका अध्यक्ष दुवाडीले बताउनुभयो ।
नगरपालिकामा माग गरिएको योजना सफल भएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । पूर्व प्रहरी,सेनाका संगठनहरुलाई यस्तै सिपमुलक तालिम दिन स्थानीय तहलाई उहाँले आग्रह गर्नुभएको छ ।थोरै रकम भए पनि सहि ठाउँमा प्रयोग गरे उपलब्धि हुने उहाँको भनाई थियो।
नेपाल पूर्व प्रहरी संगठन धादिङमा हाल २ हजार १३५ जना सदस्य आवद्ध छन् ।