त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यले तयार पारिएको सडक नाटक “छोरीको सस्तो मूल्य” बुधबार विशेष प्रदर्शन सम्पन्न भएको छ।

स्काई फोटो फिल्मस् एण्ड मिडिया हाउसका कलाकारहरूको सक्रिय सहभागितामा प्रस्तुत गरिएको नाटकले बालविवाहका कारण उत्पन्न सामाजिक, मानसिक र शारीरिक समस्यालाई प्रभावशाली ढंगले उजागर गरेको थियो ।

नाटकले विशेष गरी छोरीहरूलाई वस्तु सरह किनबेच गर्ने मानसिकता र सामाजिक दबाबका कारण उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्य कसरी प्रभावित हुन्छ भन्ने विषयमा दर्शकहरूलाई गहिरो सन्देश दिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष देवराज धरेलले भने, “बालविवाह एक घातक सामाजिक विकृति हो। हामीले यसको अन्त्यका लागि शिक्षा, सशक्तिकरण र चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ।”
उक्त नाटक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ र २ स्थित विद्यालयहरुमा प्रस्तुत गरिएको थियो। स्थानीय बासिन्दा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले उत्साहपूर्वक नाटकको अवलोकन गरेका थिए।
नाटकमा मनिष श्रेष्ठ ,बिनोद तमु, रवि भट्टराई, प्रतिमा अर्याल, सम्झना तामाङ ,मञ्जु विश्वकर्माले अभिनय गरेका थिए ।
त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।