धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बादरेमोडमा ट्याङकर र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

शनिबार बिहान वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको पेट्रोल बोकेको ना.४ ख.३१३३ नम्बरको ट्याङकर र ताल्ती हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख.२८९४ नम्बरको यात्रुवाहक बस ठोक्किएको हो ।
दुर्घटनामा परेर बसमा सवार धादिङको बेनिघाट रोराङ–२ निवासी २० वर्षीया सरीता चेपाङ, ४५ वर्षीय हरीबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ, १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नविन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फूलमाया चेपाङ, ४९ वर्षीय विष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया,१० वर्षीय अजय चेपाङ र ३६ वर्षीया सगिता चेपाङ घाइते भएका छन् । घाइतेहरूलाई मलेखुस्थित मलेखु राजमार्ग अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बस चालक मकवानपुरको कैलाश-२ बस्ने बर्ष ३१को जिवन राना र ट्याङकर चालक धादिङको थाक्रे-५ बस्ने बर्ष ३५ को बुद्ध थोकर लाई नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।
