पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ ।

यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो । तर लामो समयको हवन कार्यले तातो भएका कारण भोलि देखि भष्म, तिलक र प्रसाद भोलि र पर्सी वितरण गर्न लागिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
त्यसै गरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।

त्यसै गरी भोलि राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण गरिने भएको छ । कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगितामा विजेता समूहलाई भोलि शुक्रवार पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महायज्ञ प्रचार प्रसार समिति संयोजक लेखराज ढकालले जानकारी दिए ।

भागवत मञ्जरी राधिका दासीले ३१ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।