धादिङ, असार १९ – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उच्चतम जिपिए (४.०) ल्याउने विद्यार्थीहरू र शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयहरूलाई नीलकण्ठ नगरपालिकाले भव्य सम्मान गरेको छ।

नगरपालिकाले एक विशेष समारोहका बीच नगर क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालयका ५ जना विद्यार्थीलाई जनही ५० हजार रुपैया , सम्मान पत्र र खादासहित सम्मान गरेको हो। सम्मानित हुने विद्यार्थीहरूमा सन्द्या तिमल्सिना – नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय प्रशंसा श्रेष्ठ – सुनौलो भैरवी माध्यामिक विद्यालय,प्रिसिला तामाङ– चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालय,समिर भण्डारी – न्यू किबो आवासीय बोर्डिङ स्कुल,आयुष शर्मा– न्यू किबो आवासीय बोर्डिङ स्कुलबाट रहेका थिए ।
यसबाहेक, शतप्रतिशत नतिजा ल्याउन सफल ४ वटा विद्यालयलाई पनि जनही ४ लाख रुपैयाँ सहित सम्मान गरिएको छ। विद्यालयहरूमा प्रकाश माध्यामिक विद्यालय,लामागुरु महादेव माध्यामिक विद्यालय,महेन्द्र माध्यामिक विद्यालय,भैरवी माध्यामिक विद्यालय रहेको थियो ।
नगरप्रमुख भीम प्रसाद ढुंगानाले कार्यक्रममा बोल्दै भने, “शतप्रतिशत नतिजा ल्याउने प्रतिबद्धता भएको खण्डमा नगरपालिकाले आवश्यक सबै बजेट उपलब्ध गराउन तयार छ। शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन।”

उप–प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्रमा विशेष योजना बनाएर निःशुल्क शिक्षादेखि गुणस्तरीय सुधारका कामहरू गर्दै आएको बताए। उनले थपे, “नगरको लगानीको सकारात्मक प्रतिफल देखिन थालेको छ। अब सहकार्य र संकल्पसहित शिक्षा क्षेत्रमा ठूलो फड्को मार्न सक्छौं।”
धादिङ जिल्लाभर ८ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए, जसमा ५ जना नीलकण्ठ नगरपालिकाभित्रका हुन्। यो तथ्यले नीलकण्ठ नगरपालिकाको शैक्षिक लगानी र प्रतिबद्धताको सकारात्मक परिणाम देखाएको छ।