२०८२ श्रावण १५ बिहीबार
२०८२ श्रावण १५ बिहीबार

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ ।

यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो । तर  लामो समयको हवन कार्यले तातो भएका कारण भोलि देखि भष्म, तिलक र प्रसाद भोलि र पर्सी वितरण गर्न लागिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।  

त्यसै गरी हवन कुण्डमा रहेका  इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।

त्यसै गरी भोलि राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण गरिने भएको छ । कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगितामा विजेता समूहलाई भोलि शुक्रवार पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महायज्ञ प्रचार प्रसार समिति संयोजक लेखराज ढकालले जानकारी दिए ।

भागवत मञ्जरी राधिका दासीले ३१ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

ज्वालामुखीमा जनचेतनामूलक “छोरीको सस्तो मूल्य” सडक नाटक प्रदर्शन

ज्वालामुखी गाउँपालिकाको आयोजनामा बालविवाहजस्तो गम्भीर सामाजिक समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक सडक नाटक “छोरीको सस्तो मूल्य” प्रदर्शन गरिएको छ।

स्काई फोटो फिल्मस एण्ड मिडिया हाउसको ब्यानरमा बिनोद तमु बल्लुको लेखन र निर्देशनमा तयार भएको उक्त नाटकले बालविवाहले पार्ने सामाजिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी नकारात्मक असरहरूलाई गहिरो रूपमा उजागर गरेको थियो ।

उक्त नाटक ज्वालामुखी गाउँपालिका वडा नं. १ स्थित रातमटा आधारभूत विद्यालय, पिपलटार आधारभूत विद्यालय तथा वडा नं. ५ स्थित बलदेवी आधारभूत विद्यालयमा प्रस्तुत गरिएको थियो। स्थानीय बासिन्दा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले उत्साहपूर्वक नाटकको अवलोकन गरेका थिए।

कार्यक्रममा गाउँपालिकामा उपाध्यक्ष धर्मबहादुर अर्यालले बालविवाह र मादकपदार्थ सेवनजस्ता सामाजिक कुरीतिहरू अझै पनि समुदायमा व्याप्त रहेको उल्लेख गर्दै यस्ता समस्याहरूको अन्त्य गर्न समाजकै सक्रिय सहभागिता आवश्यक भएको बताए। अध्यक्ष अर्यालले बालविवाह सामाजिक अपराध भएको र यसविरुद्ध कडाभन्दा कडा कानुनी कारबाही हुने पनि स्पष्ट पार्नुभयो।

सडक नाटकमार्फत बालविवाहको पीडादायी यथार्थ प्रस्तुत गरिँदा दर्शकहरू भावविह्वल बनेका थिए। “छोरीको सस्तो मूल्य” शीर्षकले नै बालविवाहको पीडा र विसंगतिलाई , समुदायमा बाल अधिकारप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको नाटक सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

नाटकमा बिनोद तमु, मनिष श्रेष्ठ, रवि भट्टराई, प्रतिमा अर्याल, सुशिला घिमिरे,मञ्जु विश्वकर्माले अभिनय गरेका थिए ।

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङले सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करमा गम्भिर आपत्ति जनाउदै जिल्ला प्रशासन कार्यालय धादिङलाई सयुक्त ज्ञापन पत्र बुझाएको छ ।

सोमबार संघका अध्यक्ष कुमार विश्वकर्माको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाएको हो ।

हालै नेपाल सरकारद्धारा २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनाको व्यवसायमा गरिएका थप व्यवस्था प्रति संघको आपत्ति रहेको भन्दै संयुक्त ज्ञापन पत्र बुझाएको हो ।गर गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) प्रति संघका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

भारतमा भन्दा नेपालमा सुनको गहना मुल्य ४ प्रतिशतले अर्थात करिव ८ हजार प्रति तौलको फरक हुने र हिरा जवाहरातका गहनामा भारतमा बढिमा ४.२६ प्रतिशत (जिंएस टि र अन्य शूल्क सहित) रहेकोमा नेपालमा १३ प्रतिशत भ्याट लागू भए पछि मूल्यमा ठूलो अन्तर भई यसले नेपालको तराई क्षेत्रका बजार मात्र प्रभावित नभई सिंगो देशकै बजार प्रभावित हुने भई यसले देशको सुनचाँदी बजार धरासायी हुने निश्चित भएको उल्लेख छ ।

सुनको आकासिँदो मूल्यले सुनचाँदी बजारमा पहिल्यै मन्दी ल्याइसकेको अवस्थामा कर वृद्धिको यो व्यवस्थाले थप मन्दी सिर्जना गर्ने निश्चित छ। यसबाट लाखौं व्यवसायी तथा कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले ज्ञापनपत्र बुझ्दै आफुले यि मागहरूलाई सम्वन्धित निकायमा पुर्याउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सेर्तुङस्थित च्याम्रादेवी माद्यमिक बिधालयमा ‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिस्कृत सरकार,सार्वजनिक शिक्षा, सवलिकरण सहितको शैक्षिक पूर्वाधार, रुवी भ्याली गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित शुक्रबारदेखि सुरु भएको रुवी भ्याली शैक्षिक सुधार वर्ष २०८२ बृहत शैक्षिक सम्मेलन शनिबार सप्पन्न भएको हो।

सम्मेलनले ५८ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ।

सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष राम सिं तामाङले बताउनुभयो ।

समग्र शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनितीक दल, जनप्रतिनिधिबीच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा सहभागी सबै पक्षको समुहगत छलफल गरेर प्रतिबद्धतासहित घोषणापत्र निमार्ण गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै अध्यक्ष तामाङले समग्र शैक्षिक अवस्थाको विषयमा अब अभिभावकलाई मात्र दोष दिने हैन जनप्रतिनिधि, शिक्षक, कर्मचारी, राजनीतिक दल हामी सबैले चिन्तन गर्नुपर्ने बताउनुभयो।

प्रतिबद्धता पत्रमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति, राजनितीक दल र गाउँपालिकाले गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि गनुपर्ने असल कार्यहरू समावेश गरिएको गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले बताउनुभयो।

सम्मेलनमा प्रधानाध्यपक तथा शिक्षकहरूले विद्यालयहरुको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराएका थिए भने गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको बारेमा गाउँपालिकाका श्रोतव्यक्ति उत्तमलाल तामाङले जानकारी तथा प्रस्तुती राख्नुभएको थियो ।

सम्मेलनमा नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक डा.नविन्बन्धु पहाडीले विद्यालयको शैक्षिक विकासमा विद्यार्थी, शिक्षक, प्रधानाध्यपक तथा अभिभावकको जिम्मेवारी तथा समुदायीक विद्यालयको अवस्थाका विषयमा आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो।

त्यस्तै शिक्षा बिज्ञ आर के ढुंगानाले शैक्षिक विकासका लागि अवलम्बन गरिएका असल अभ्यासबारे विशेष छलफल गर्नुभएको थियो

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।

प्रिन्सिपल एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो ।

देशभरबाट चयन गरिएका पालिकाहरूको २५ वटा सूचकको आधारमा गरिएको मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका शीर्ष स्थानमा पर्न सफल भएको हो। शिक्षामा नविनतम कार्यक्रम, निःशुल्क तथा अनिवार्य शिक्षा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, विद्यालय समायोजन प्रक्रिया र प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिजस्ता प्रयासले नीलकण्ठ नगरपालिकालाई अन्य पालिकाभन्दा अग्रणी बनाएको हो।

कार्यक्रममा नीलकण्ठ नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना, नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, शिक्षा अधिकृत प्रकाश दत्तभट्ट र शिक्षा श्रोत व्यक्ति मेघनाथ कोइरालाले संयुक्त रूपमा सम्मान ग्रहण गर्नुभएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख ढुंगानाले नीलकण्ठ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू अघि बढाएको जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा संघीय र प्रदेश सरकारको असहयोगले केही समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो।

विद्यार्थीको भावना बुझी तत्काल समाधान खोज्ने प्रयास, नगरवासी तथा विद्यार्थीका हक र हितमा नगरपालिका प्रतिबद्ध रहेको ढुंगानाको भनाइ छ । आगामी दिनहरूमा शिक्षा सुधारका थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

धादिङ । धादिङमा स्थानिय सरकारको लागि लैङ्गिक उत्तरदायी योजना तथा बजेट तर्जुमा सम्बन्धी कार्यशाला सञ्चालन गरिएको छ ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा खनियाबास र गंगाजमुना गाउँपालिकामा सञ्चालन गरिरहेको “उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना” अन्तर्गत जनप्रतिनिहरु तथा योजना र बजेट तर्जुमा कार्यमा संलग्न विषयगत शाखाका कर्मचारीहरूका लागि दुईदिने कार्यशाला सञ्चालन गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।मंगलबार र बुधबार भएको कार्यशालामा ३० जना सहभागी थिए ।

कार्यशालामा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवधारणा, लैङ्गिक उत्तरदायी योजना तथा बजेट निर्माणमा आवश्यक सीप विकास, योजना निर्माणका ७ चरणहरू, लैङ्गिक सम्बन्धी संविधानिक व्यवस्था, राष्ट्रिय नीति, लैङ्गिक परीक्षणका विधिहरू, सामाजिक समावेशीकरणको आवश्यकता, सकारात्मक र नकारात्मक प्रभाव, सामाजिक मूल्य–मान्यता, समावेशी बजेट प्रणालीमा स्थानीय तहको भूमिका, चुनौती तथा प्रभाव आदि विषयमा विज्ञ निता गुरुङले सहजीकरण गर्नु भएको थियो ।

कार्यशालामा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ, प्रयास नेपाल धादिङका अनुगमन उप समिति संयोजक कपिलदेव सापकोटा ,दुबै पालिकाका वडाध्यक्षहरू, कर्मचारीहरू तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखहरू सन्ध्या उपाध्याय र इन्द्रकुमारी श्रेष्ठको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यशालापछि दुबै पालिकाले लैङ्गिक मैत्री नीति निर्माण तथा योजना र बजेट तर्जुमा गर्न प्रतिबद्धता जनाएको लैङ्गिक सहायक शर्मिला गुरुङले जानकारी दिनुभयो।

पोखरा महानगरपालिका वडा नं.१७ मा ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ।

कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् ।

माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी पुस्ताहरुले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राख्नको लागि कोटिहोम चोक भनेर नामकरण गरिएको हो ।”

त्यस्तै अर्का स्थानिय धनी प्रसाद ढकालले भन्नुभयो,“हामी कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौं,यो कोटिहोम महायज्ञको इतिहास जिवन्त गर्नका लागि अर्को बर्ष स्थानियको सक्रियतामा नै ठूलो प्रवेशद्धार निर्माण गर्ने छौं ।”

अर्का स्थानिय बिनोद केसीले नयाँ मान्छे आउदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामाकरण गर्दा हाम्रो पहिचान नै उच्च रहने बताउनुभएको छ ।

बैशाख ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानियको भनाई रहेको छ ।

मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भएको कोटिहोम महायज्ञमा दैनिक बाक्लो भक्तजनको सहभागीता रहेको छ।

धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो ।

नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो । ३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। थाक्रेले ८ स्वर्ण, ११ रजत र ८ कास्य पदक गरी कुल २७ पदक प्राप्त ग¥यो ।  ५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदकसहित रुवीभ्याली गाउँपालिका तेस्रो भयो ।  ५ स्वर्ण, २ रजत र ४ कास्यसहित ज्वालामुखी गाउँपालिका चौथो भएको छ ।प्रतियोगितामा ४ स्वर्ण, १२ रजत र १४ कास्यसहित गजुरी गाउँपालिका पाँचौ, ४ स्वर्ण, ९ रजत र ५ कास्यसहित सिद्धलेक गाउँपालिका छैटौ, ३ स्वर्ण, १ रजत र ४ कास्यसहित त्रिपुरासुन्दरी गाउँपालिका सातौँ भएको छ ।

त्यस्तै २ स्वर्ण, ५ रजत र ७ कास्य प्राप्त गर्दै गल्छी गाउँपालिका आठौँ, १ स्वर्ण र १ कास्य प्राप्त गर्दै नेत्रावती डवजोङ गाउँपालिका नवौँ स्थान हासिल गर्यो भने धुनिबेशी नगरपालिकाले ३ रजत र १४ कास्य र खनियाबास गाउँपालिकाले १ रजत र १ कास्य प्राप्त गर्यो । प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको भलिबल, कबड्डी, कँराते, तेक्वान्दो, उसु, एथ्लेटिक्स फिल्ड इभेन्ट्समा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू भएको थियो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षता भएको समापन कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवम नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । बिजेता खेलाडी तथा पालिकाहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख ढुंगानाले जिल्लाको खेल क्षेत्र विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ । ढुंगानाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको र खेल र खेलाडीहरूको विकासका लागि प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल र खेलाडीतर्फ सरकारले लगानी बढाउँदै जानुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकाले पनि उनीहरुलाई प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष तामाङले जिल्ला खेलकुद विकास समिति र आफ्नो तर्फबाट खेल र खेलाडीको विकासका लागि सक्दो प्रयास गरेको भन्दै आगमी दिनमा पनि खेल क्षेत्रकालागि लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा १३ वटा पालिका मध्ये बेनिघाट रोराङ र गंगाजमुना गाउँपालिकाबाट कुनै खेलाडी सहभागी भएनन् । प्रतियोगितामा ११ वटा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका ८ सय भन्दा बढि छात्र/छात्राहरुले भाग लिएका थिए । जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिने खेलकुद विकास समितिका अध्यक्ष तामाङले बताउनुभयो। प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ जेठ १७ देखि १९ गतेसम्म दोलखाको चरिकोटमा सञ्चालन गर्ने भएको छ।

प्रदेशले जेठ १० गतेभित्र जिल्ला छनौट गरि ईभेन्ट्स सहितको खेलाडी नामावली, सम्बन्धित जिविसको पत्र र खेलाडी दर्ता फारम सहित परिषद्मा उपलब्ध गराईदिन अनुरोध गरेको छ।

धादिङमा जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्धन्द व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय धादिङको आयोजना तथा ग्रिन क्लाईमेट फण्ड, आईयुसिएन, एनटिएनसीको सहकार्यमा गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना अन्तरगत शुक्रबार धादिङबेशीमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यशालामा डिभिजन वन कार्यालय धादिङका प्रमुख डिभिजनल अधिकृत बिष्णु प्रसाद आचार्यले मुलुकका ग्रामीण क्षेत्रको बस्ती खाली हुँदै जानु र बाँझिएका जग्गा जङ्गलमा परिणत हुनाले जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भई दिन प्रतिदिन मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको बताउनुभयो ।प्रकृतिका हरेक स्रोत र साधनमाथि पृथ्वीमा भएका सबै जीवको समान हक हुने भन्दै उहाँले मानवजाति असीमित आवश्यकता पूर्तिका लागि प्राकृतिक स्रोतको दोहन गर्दा अन्य जीवको न्यूनतम जीवनको अधिकार हनन गरिरहेको बताउनुभयो ।

प्रकृतिमाथि चरम मानवीय दोहनका कारण पृथ्वीको धान्ने क्षमतामा चुनौती मात्र थपिएको छैन प्राकृतिक स्रोतमा निर्भर वन्यजन्तु सङ्कटमा पर्दै गएको उहाँको भनाई थियो । आफ्नो प्राकृतिक बासस्थान तथा आहारामाथि मानवीय दख्खल बढिरहँदा वन्यजन्तु अस्तित्व रक्षाका लागि कहिले हिंस्रक हुने त कहिले आहारको खोजीमा मानव बस्ती तथा कृषिक्षेत्रमा छिर्न बाध्य भएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘मानिस वन्यजन्तु द्वन्द्वका कारण एकातिर धनजनको क्षति हुने र अर्कोतिर वन्यजन्तुप्रति हुने प्रतिशोधपूर्ण व्यवहारबाट वन्यजन्तुलाई क्षति पुग्ने गरेको छ । वन्यजन्तुबाट मानवीय क्षति, पशुधनको क्षति तथा खाद्यान्न बालीको क्षति हुने गरेको छ ।

मानिसबाट वन्यजन्तुमाथि आक्रमणसँगै वन्यजन्तु घाइते तथा मृत्यु हुने, अवैध चोरीसिकार, वासस्थान विनाश तथा खण्डीकरणजस्ता क्रियाकलाप हुने गरेका छन् ।’ द्वन्द्वको यो अवस्थाले वन, वन्यजन्तु तथा जैविक विविधताका बारेमा आममानिसमा नकारात्मक धारणाको विकास हुने र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको चासो तथा सहभागितामा कमी आउने बताउनुभयो ।

गोष्ठीमा जिल्लाको बिभिन्न बन समुहका प्रमुख एवम प्रतिनिधी, समाजसेवी, जनप्रतिनिधीहरु सहभागी थिए । कार्यशालामा सहभागीहरुले पहाडी जिल्लामा बाँदरले मच्चाउने गरेको व्यापक वितण्डाले मिहेनत र लागत लगाएको खेती जोगाउन नसक्दा निराश किसानले खेती गर्न छोडी आफ्नो खेतबारी बाँझो राख्ने गरेको बताएका थिए ।

यसको नियन्त्रण तथा व्यवस्थापनमा सरकारले चासो नदेखाएको गुनासो गरेका थिए ।

धादिङ– पछिल्लो समय सदरमुकाम धादिङबेसीमा ट्राफिक प्रहरीको निकै चर्चा छ । ट्रक, ट्रिपर, बोलेरो जीपका चालक होस् या मालिक सबैको एउटै गुनासो छ–‘ट्राफिक प्रहरीले हैरान पा¥यो ।’

सदरमुकामबाट ग्रामीण भेग आउजाउ गर्ने सवारीसाधनसँग ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्छन् भन्ने कुरा नयाँ होइन । तर, सहिनसक्नु हुन थालेपछि जिल्ला सदरमुकाम धादिङबेसी केन्द्रित ट्राफिक प्रहरीको ज्यादती आम नागरिकसम्म नै छताछुल्ल हुन पुगेको छ ।

सांङ्कोष तिप्लिङ सडकमा बोलेरो चलाउदै आएका एकजना चालक भन्छन्–‘ट्राफिकलाई महिनावारी पैसा नबुझाए गाडी चलाउनै सकिदैन ।’ मासिक रुपमा न्युनतम एक हजार नबुझाए रित्तै भएको बेला पनि अनेक बाहानामा चिट काटिदिन्छ, महिनामै दशौं पटक चिट काट्नुभन्दा एक हजार बुझाएर ढुक्कले हिड्न पाइन्छ ।’

ट्राफिक प्रहरीलाई मासिक रुपमा रकम बुझाउने भएपछि अहिले धादिङबेसीको सडकमा नै खुलेआम रुपमा खचाखच मान्छे बोकेर हुईकिरहेको देख्न पाइन्छ ।

आवश्यक कागजपत्र सहिसलामद साथमा हुँदा होस् या नहँुदा अनेकन बहानामा दुःख दिने गरेको अधिकांश चालकहरु गुनासो गर्छन् । तर, पैसा बुझाएको बारे हल्ला गरे झन बढी ट्राफिकको कारबाही खेप्नुपर्ने त्रासले कुनैपनि चालकहरु नाम सार्वजनिक गर्न चाहदैनन् । विशेषगरी नीलकण्ठ नगरपालिका–३ धादिङबेसी बजारबाट ग्रामीण भेगमा खाद्यान्न र यात्रु बोक्दै आएका बोलेरो जीपहरु ट्राफिकको निशानामा छन् ।

नियम विपरित गुडेका सवारीसाधनलाई कानून बमोजिम चिट काट्नु र कार्वाही गरी कानूनी दायरामा ल्याउनु ट्राफिक प्रहरीको जिम्मेवारी हो । तर, चिट नकाटीकनै नगद खल्तीमा हाल्ने र चिट नकाटीकनै मासिक रुपमा रकम उठाउने गरेको तथ्य बाहिरिएपछि पछिल्लो समय ट्राफिक प्रहरीको बदनाम भएको छ ।

केही समयअघि दुई जना यातायात व्यवसायीले सामाजिक संजालमा लेखेको पोष्ट र कमेन्टबाट पनि प्रष्ट हुन्छ–‘ट्राफिक प्रहरीले पछिल्लो समय ज्यादती मच्चाएकै छन् ।’

सामाजिक संजालमा पोष्ट भएका सामाग्रीहरुमा आएकोे कमेन्टहरुले ट्राफिक प्रहरीले धादिङबेसी आसपासमा देखाइरहेको हर्कतलाई सर्लक्कै केलाइदिएको छ । रुटिन अफ धादिङ कन्डिशन नामको एउटा फेसबुक पेजले हालेको पोष्टमा गएर धादिङका बस व्यवसायी राजेश प्रजापतिले व्यङ्ग्य गर्दै लेखेका छन्–‘महिनावारी जो चलेको छ ? प्रयोजन विपरित सवारीबाट मासिक दुई हजार, लोकल भाले, घ्यु, लोकल चामल, माछा, मासु (…) घिच्न पाएको छ । अनि कसरी हुन्छ कारबाही ? ट्राफिक प्रहरीको भुँडी हेर्नु न भुँडी ।’

चालकहरुका अनुसार अफिस कलरको रुपमा कार्यालयभित्रै ड्युटी खटिने ट्राफिक प्रहरीले झन फिल्डमा खटिनेले भन्दा धेरै सताउँछन् । कारबाहीमा परिसकेपछि भौचर लिएर कागजपत्र लिन पुग्दा होस् या चिटै नकाटी लिएको कागजपत्र बुझ्न कार्यालय पुगेका चालकसँग खुलेआम खाइखर्च माग्छन् । गाउँबाट झरेका चालकहरुले कोसेली बोकेर अफिस पुग्नुपर्छ ।

अफिस कलर भन्नाले कारबाहीमा काटिएका चिट सिस्टममा इन्ट्री गर्नेदेखि कार्यालयको आन्तरिक काममा खटिने प्रहरी हुन् । तर अफिस मै बसेर बिना चिट मासिक भत्ता थाप्ने पनि ती अफिस कलर नै हुन् । यसरी चालकसँग उठाएको पैसा पोष्ट अनुसार बाँडीचुँडी लिने आन्तरिक सिस्टम रहेको श्रोतको भनाई छ ।

करिब एक महिनाअघि ट्राफिक प्रहरी पोष्ट धादिङबेसी आएका प्रहरी जवान बेगम पोखरेल र सहायक हवल्दार काशीराज जोशीको जोडी अहिले धादिङबेसीमा निकै जमेको छ । उनीहरुको अस्वभाविक चुरिफुरीले अधिकांश चालक आजित छन् । आफ्नो उपस्थिति देखाउन बजार क्षेत्रमा दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्तालाई कागजपत्र चेकजाँच गर्ने नाउमा दुःख दिने गरेका छन् । उनीहरु जोकोहीलाई होस् अपशब्द बोल्न समेत पछि पर्दैनन् । चालकहरु भन्छन्–‘१५ महिना नागढुंगा बसेर आएका हौं, नियम नसिकाउ भन्दै छाडा बोलेर थर्काउँछन् । केही न केही बहाना बनाएर दुःख दिन्छन् । भनेको नमाने सानो कमजोरी देखाएर ठूलो चिट थमाइदिन्छन् ।’

ट्राफिक प्रहरीले चलाउने एउटा टुकटुके (सानो) मोबाइल सेट छ । त्यहि मोबाइलमा गाडी नम्बर इन्ट्री गरेर राखेका हुन्छन् । र, महिना पुग्न लागेपछि चालकहरुलाई अग्रिम जानकारी गराउँछन् । मासिक डायरी अनुसार बेलैमा रकम नबुझाए भेटेको दिन सिधै कारबाही भोग्नुपर्ने चालकहरुको भनाई छ ।

‘टाइम पुग्यो खै त भेटघाट ? अफिस आउनु प¥यो भन्छ । भेट्न गएन भने चिट नकाटी ब्लुबुक वा लाइसेन्स लान्छ । गएर भेटेपछि एक महिना वास्ता गर्दैन’, नाम सार्वजनिक नगरिदिने कसम खाएपछि एकजना चालकले ट्राफिक प्रहरीको व्यवहारको फेयरिस्त बताए ।

अब कुरा गरौं, मासिक कति उठ्छ त पैसा ?
सिरानबजार हुँदै धुवाकोट, सेम्जोङतर्फ चल्ने, बीचबजारबाट सुनौलोबजारतर्फ चल्ने, पुछारबजार बगैँचा हुँदै खरी, मैदी र त्रिपुरासुन्दरी गाउँपालिकाका बस्तीहरुमा आउजाउ गर्ने, ससाह हुँदै ज्वालामुखी र सिद्दलेकका ग्रामीण बस्तीहरुमा चल्ने करिब दुई सय बढी बोलेरो जीपहरु छन् । साङ्कोेष तिप्लिङ सडकमा मात्रै ६० वटा भन्दा बढी बोलेरो जीप चल्छन् । किङ्ताङफेदी, मार्पाक, गुम्दी, कटुङ्जे, फुलखर्क लगायत गाउँका सामान र तीनै ठाउँका मान्छे ओसारपसार गर्छन् ।

निर्माण सामग्री ओसारपसार ट्रिपर, पहाडी बस्तीहरुसम्म चल्ने सौराज ट्रक, सदरमुकाम आसपासमै सामान ओसारपसार गर्ने एक सय सवारी साधन छन् । यी सबै ट्राफिक प्रहरीको मागिखाने भाँडो हो । यस्ता अधिकांश सवारीसाधनसँग न्युनतम मासिक एक हजार उठाउछन् ।

वर्षाैदेखि कागजपत्र नविकरण नभएका थोत्रा ट्रक, गुड्दा गुड्दै पाङ्ग्रा फुस्केला जस्ता साना सवारीबाट त कति असुल्छन् गन्ती गर्नै सकिदैन । डिजल हाल्न पम्पमा गएको बेला यस्ता गाडीहरु ट्राफिकको टार्गेटमा पर्छन् ।

हुन त बोलेरोहरुले पुरै नियम पालना गरेका हुन्छन् भन्ने होइन । बोलेरोमा चालक सहित पाँच जनाको सिट क्षमता हुन्छ । मुख्य सडकहरुमा बस चलेपनि भित्री बाटोहरुमा बस जान सक्दैन । गाडी भइभई मान्छेहरु हिँड्न चाहँदैन । गाउँघर चल्ने बोलेरोलाई मान्छे बोक्नैपर्ने बाध्यता छ । खरी, मैदी चल्ने बोलेरोका चालकहरु भन्छन्–‘नचढ्नुस् भन्दा पनि चढ्नुहुन्छ । जबरजस्ती छोडेर गयो भने भोलीपल्टदेखि गाउँमा छिर्नै पाइदैन, मान्छे बोक्नु हाम्रो बाध्यता हो । पैसा नतिरिकन कुनै गाडी चल्नै सक्दैन, को संग कति उठाउछ मात्रै फरक हो ।’

बसका चालक र मालिकहरुलाई भने ट्राफिक प्रहरीको प्रेसर अलि कम छ । किनकी यातायात व्यवसायी संघहरुले नै आधिकारिक रुपमा मासिक रकम भरिदिन्छन् । व्यवसायी संघहरुसँग घरभाडा तिर्न भनेर मासिक १० हजारसम्म थाप्छन् । चाडपर्व खर्च, माछामासु, दारुपानीको त हिसाबै छैन । आकलझुकल दुई÷चार हजार दिनैपर्छ । लामो समयदेखि धादिङको यातायात व्यवसाय सुधारको अभियानमा रहेका जया भट्ट भन्छन्–‘ट्राफिक प्रहरी र सुरक्षा निकायकै कारण वेथिति मौलाएको हो ।’

व्यवहारिकता पनि हेर्नुपर्छ, अवैध ढंगबाट रकम उठाउनु ठिक होइन भन्ने ट्राफिक प्रहरीहरु हाकिमको नजरबाट तुरुन्तै हट्छन् । तर, ट्राफिक प्रहरी पोष्ट धादिङबेसीका इन्चार्ज बरिष्ठ सहि सुरेन्द्र विष्ट यी कुनैपनि कुरा स्वीकार्न तयार छैनन् । आफु धादिङबेसी आएदेखि एक सय भन्दा बढी गाडीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएर कारबाही गरिएको मात्रै दावी गर्छन् ।

धादिङको जिम्मेवारी सम्हालेर आएको दिनदेखि नै सडकमै उभिएर मान्छे बोकेका बोलेरो र रातो प्लेटको सवारीलाई २०-२० हजारसम्म चिट हान्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी उपरीक्षक दीपेन्द्र शाही अहिले चुपचाप छन् । सडकमा खुलेआम यस्ता सवारी चलिरहेकै छ तर, आँखा चिम्लिएर हिँडेका हुन् वा नदेखेका हुन् ? सहजै अनुमान लगाउन सकिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।