धादिङका पत्रकारहरुले सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
काठमाडौंस्थित तिनकुनेमा पत्रकार सुरेश रजकसहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड, आगजनी तथा मिडियाकर्मी कुटपिटमा संलग्न तथा दोषीलाई कारबाहीको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई दिइएको सो ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपुर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुईतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरि क्षति पुर्याएको,कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरि क्षति पुर्याएको, हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरि क्षति पुर्याएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरि खुट्टा भाचेको र फोटो पत्रकार निराज तामांगको क्यामेरा हराएकोमा ति घटनाहरुको निष्पक्ष छानविन र दोषीलाई कडा कार्यवाहीको मांग रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरि हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कार्यवाही गर्न तथा उनको परिवारलाई क्षतिपुर्ति दिन, संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सवैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका संचारगृह र संचारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाईते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग राखेका छन् । विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन समेत मांग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे तत्काल पत्र संघिय सरकारलाई पठाउने र न्याय निरुपणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
चैत्र १५ गते भएको घटना र पत्रकारहरुसंग भएको घटनाप्रति नेपाल सरकार गम्भिर रहेको उनले बताए ।