२०८२ श्रावण १५ बिहीबार
२०८२ श्रावण १५ बिहीबार

कोटिहोम ज्ञान महायज्ञ : अन्तरिम आदेश खारेज गर्नु नपर्ने उच्च अदालतको फैसला

 पोखरामा सञ्चालन हुने कोटिहोमका विषयमा उच्च अदालतले अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी पोखरा महानगरपालिकाले दिएको भ्याकेट निवेदनमा उच्च अदालतले सोमबार अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिन आदेश दिएको हो।

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न भन्दै विभिन्न स्थानमा परिपत्र गरेपश्चात श्री मानव सेवा फाउण्डेसन नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएकोमा गत फागुन १ गते उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरी कोटिहोम नरोक्नु नरोकाउनु भनी आदेश दिएको थियो ।

तर पोखरा महानगरपालिकाले उक्त कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी आदेशको विरुद्धमा अन्तरिम आदेशको खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएको थियो ।

सो निवेदन पश्चात फागुन १९ गते पेशी चढी संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिन आदेश दिएको मानव सेवा फाउण्डेसन नेपालले जनाएको छ ।

आदेशसँगै अब ऐतिहासिक कोटिहोम महायज्ञ सोही मिति, स्थान र समयमै हुने कुरा निश्चित भएको फाउण्डेसनले जनाएको छ।

अदालतका न्यायाधीश दिपेन्द्र अधिकारी उमेश कोईरालाको इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दको इजलासले गरेको फैसलालाई नै सदर गरेको हो ।

रिट निवेदन विचाराधीन रही मिति २०८१ फागुन ६ मा आदेश हुँदा रिट निवेदन समेत साथै राख्नु र अग्राधिकार दिनु भनी आदेश भएको देखिएको, प्रस्तुत रिट निवेदनमा लिखित जवाफ समेत प्राप्त भैसकेको देखिएको अवस्थामा विवाद भएको स्थान र विषयको सम्बन्धमा पूर्ण सुनुवाई भई अन्तिम निरुपण हुँदाका वखत विवेचना हुने प्रकृतिको देखिँदा अन्तरिम आदेशलाई निरन्तरता दिन भनेको छ ।

यस आदेशपछि कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालनमा कानुनी अड्चन हटेको फाउन्डेसनले जनाएको छ ।

महायज्ञ आयोजना गरिनुपर्ने स्थानमा पूर्वनिर्धारित कार्यक्रमअनुसार काम अघि बढाइने र सहभागीहरूको सहजताका लागि आवश्यक पूर्वाधारहरू निर्माण गरिने फाउन्डेसनका प्रतिनिधिहरूले जनाएका छन्।

आगामी २०८१ चैत्र १७ बाट २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम सञ्चालन गर्ने आयोजकको तयारी छ ।

कोटी होममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।

सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।