धादिङबेशीमा आजदेखी लोक सांस्कृतिक महोत्सव सुरु हुँदैछ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक आजदेखी लोक सांस्कृतिक महोत्सव–२०८१ सुरु हुँदैछ।
बुधबार आयोजकले महोत्सव परिसर खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनीस्थल निर्माण लगायतका विभिन्न कार्यहरु सम्पन्न भइसकेका छन्। महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले पत्रकार सम्मेलनमा बताउनुभयो।
उहाँका अनुसार धादिङवेशी बजारमा बिहान ११ बजेदेखि प्रतियोगितात्मक बहुसांस्कृतिक झाँकीसहितको ¥याली हुने र १२ बजेदेखि उद्घाटन समारोह हुनेछ । जिल्लाको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक कोइरालाले बताउनुभयो। महोत्सवले कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा लिइएको उहाँको भनाई छ । महोत्सव अवलोकनको लागि अन्यलाई शुल्क एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई ७० रुपैँया तोकिएको कोइरालाले बताउनुभयो।

महोत्सवको प्रमुख आकर्षणका रुपमा जिल्लाको अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगिता रहेको र मौलिक र जातिय पहिचान झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको मुल आयोजक समितिका संयोजक कोइरालाले बताउनुभयो। अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगितामा १३ वटै पालिकाबाट १६ टिम सहभागी हुने पनि उहाँले बताउनुभयो । महोत्सवमा मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, वालन, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो।
लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र सम्वृद्धिको मूल आधार भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा एक सय वटा स्टल राखिएकोे आयोजकको भनाई छ । २० गते सम्म सञ्चालन हुने महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले आकलन गरेको छ।
महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।